धनुषा जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। उनीहरूले जिल्लाभरका पसलसमेत बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनका सिलसिलामा शुक्रवार जनकपुरधाम सुनचाँदी व्यवसायी सङ्घ र नेपाल सुनचाँदी व्यवसायी सङ्घ धनुषाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा दुई प्रतिशत विलासिता कर लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए।
पत्रकार सम्मेलनमा जनकपुरधाम सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष पवन ठाकुरले सरकारले विलासिता करको नाममा दुई प्रतिशत बढाउँदा उपभोक्ता समक्ष ६ प्रतिशत पुग्न जाने बताए।
उनले यसो भयो भने भारतमा सुनको मूल्य सस्तो पर्ने र सोही कारणले सुन खरिद गर्नेहरू भारतीय बजार जान बाध्य हुने जानकारी दिए।
सरकारले कर नहटाए सम्पूर्ण सुनचाँदी व्यापारीले पसल बन्द गरेर पलायन हुने स्थिति सृजना हुने अध्यक्ष ठाकुरले बताए।
यसबाट लाखौँ कालिगढ र सुनचाँदी व्यवसायमा आबद्ध व्यक्तिहरू बेरोजगारीको सिकार हुने उनको भनाई छ।
उनले सरकारलाई विलासिता कर हटाउन माग गर्नुका साथै केन्द्रीय सङ्घको निर्णय अनुसार आफूहरूले थप आन्दोलनका कार्यक्रमहरू सशक्त बनाउँदै जाने चेतावनी समेत दिए। व्यवसायीहरूले काठमाडौँलगायत देशभरका सहरहरूमा आन्दोलनका कार्यक्रमहरू गरिरहेका छन्।