परराष्ट्रमन्त्री आरजु राणा देउवाले पहिलाको अवस्थामा घरेलु महिला कामदारहरूलाई रोक लगाउनु ठिक भएपनि अहिले यसबारे फेरि सोच्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा भएको छलफलमा उनले नीति निर्माताले नागरिकहरूको रक्षाको उद्देश्यले रोक लगाए पनि गैरकानूनी रूपमा जाने कदमले झनै खतरा बढेको जस्तो लागेको भन्दै यसमा फेरि सोच्नुपर्ने बताइन्। 
उनले भनिन्, ‘खाडी मुलुकको नेपाली राजदूतहरूसँग एउटा बैठक भएको थियो र त्यो बेला उहाँहरूले घरेलु महिला कामदारहरूलाई बाहिर नपठाउने भनेर रोक लगाइएको कुरा राख्नु भएको थियो। पहिलाको अवस्थामा रोक लगाउनु ठिक पनि थियो होला तर अहिले मानव अधिकारको कुरामा धेरै प्रगति भएको अवस्थामा यसबारे फेरि सोच्नुपर्छ। नीति निर्माताले राम्रो उद्देश्यले नागरिकहरूको रक्षा गर्नुपर्छ भन्ने उद्देश्यले लिएको कदमले झनै खतरा बढेको हो की भन्ने जस्तो कुरा आएको छ।’ 
उनले रोक लगाए पनि गैर कानुनी रूपमा धेरै कामदारहरू बाहिर जाने हुँदा उनीहरूलाई कानुनी दायरामा नल्याउँदा घर आउन पनि समस्या हुने गरेको बताइन। कुवेतमा मात्र ४८ हजार नेपाली महिलाहरू काम गरिरहेको पनि उनले जानकारी दिइन्। 
यस्तै, उनले गैर कानुनी रूपमा काम गर्न जाँदा महिलाहरूलाई उद्धार गरेर ल्याउनको लागि खर्च पनि नहुने अवस्था रहेको भन्दै यसपालिको बजेटमा नेपाल सरकारसँग खर्चको माग गरेको र श्रम मन्त्रीसँग पनि कुरा राखेको बताइन्।