शुक्रवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ। 
सिंहदरबारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा वैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको हो।
उक्त छलफलमा रास्वपाका सांसद गणेश पराजुलीले घरेलु श्रमिक कामदारका रूपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिबन्ध लाग्दै आएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रूपमा रहेको बताए। उनले यसरी घरेलु कामदार युएईमा जाँदा पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केही गर्न नसकेको बताए।
उनले भने, ‘घरेलु श्रमिक कामदारका रूपमा महिलाहरूलाई नपठाउने भनेर बारम्बार प्रतिबन्ध लाग्दै गएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रूपमा रहेका छन्। त्यहाँ जाँदा नेपाली कामदारले पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केही गर्न सकेको छैन।’
यसैगरी, नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरू के छन् भन्दै उनले प्रश्न गरे। उनले अहिले पनि एक लाख भन्दा बढी  महिला दिदीबहिनीहरू खाडी मुलुकमा उद्धारको लागि वेदना पोखिराखेको अवस्था रहेको बताए।
उनले भने, ‘बारम्बार महिला कामदारलाई नपठाउने भनेर प्रतिबन्ध लागे पनि फेरि प्रतिबन्ध खुलाउँदै कामदारहरू गएको अवस्था छ। नेपाली नागरिकको अन्तर्राष्ट्रिय जगतमा सुरक्षाको पाटोसँग जोडिएर रहेका विषयहरू के छन् यसमा मेरो प्रश्न ? खै  श्रममन्त्री ? खै  कानुनान्त्री ? नेपाली नागरिकको सुरक्षा अन्तर्राष्ट्रिय जगतमा  केही छैन। अहिले  पनि एक लाख भन्दा बढी महिला दिदीबहिनीहरू खाडी मुलुकमा उद्धारको लागि  वेदना पोखिराख्नु भएको छ। हाम्रो सुरक्षा चाहियो भन्दाखेरि गृहमन्त्री, कानुनमन्त्री र श्रममन्त्री हेरेर बसिरहनु हुन्छ।’