विराटनगर। नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको रूपान्तरणबाट अरबौँ रुपैयाँ आम्दानी गर्न सकिने सम्भावना रहेको बताएका छन्।
शनिवार विराटनगरमा आयोजित ‘हुलाक सेवा पुनः संरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रविधिमैत्री तथा व्यावसायिक हुलाक सेवा निर्माण आवश्यक रहेको धारणा राखे।
उनका अनुसार यस्तो सम्भावनालाई मूर्तरूप दिन कानुनी तथा नीतिगत सुधार अपरिहार्य छ। ‘सरकारले आवश्यक परे ऐन, नियम र निर्णयमा समेत सुधार गरेर हुलाक सेवालाई प्रभावकारी बनाउन सक्छ,’ मन्त्री गुरुङले भने।
मन्त्री गुरुङले हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्राविधिक दक्ष जनशक्ति विकासमा जोड दिए।
‘कार्यालयको व्यवस्थापनमा सबै कर्मचारी लाग्नुपर्छ। प्रविधिसँग अभ्यस्त जनशक्ति तयार पारेर संस्थालाई चलायमान बनाउन सकिन्छ,’ उनले भने।