प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा निर्माण गरिएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन्। शनिवार हेलिकप्टरमार्फत कटहरी पुगेका प्रधानमन्त्री ओलीले दुई अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको २०० शैय्याको अत्याधुनिक अस्पताल उद्घाटन गरेका हुन्। 
ग्रामीण भेगमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पताल जीवन विकास समाजद्वारा स्थापना गरिएको हो, जसका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल हुन्। मण्डल मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यसमेत हुन्, जसले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए।
अध्यक्ष मण्डलका अनुसार अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकको टोलीमार्फत सेवा प्रदान गरिने छ । यहाँ आकस्मिक सेवा, विशेषज्ञद्वारा दैनिक ओपिडी, निर्मल तथा पेनलेस डेलिभरी सेवा, सामान्य र दूरबिन प्रविधिबाट हुने सबै प्रकारका शल्यक्रिया, बालरोग उपचार तथा डायलासिस सेवा उपलब्ध हुनेछ।
हाल अस्पतालमा २५ शैय्याको आइसियु, ९ शैय्याको नवजात सघन कक्ष (एनआइसीयू), र १० शैय्याको सिसियु (सीसीयू) सञ्चालनमा छन्। मण्डलका अनुसार अस्पतालमा दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहित २०० जना स्वास्थ्यकर्मी कार्यरत छन्।
स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस अस्पतालले मोरङको ग्रामीण क्षेत्रका साथै आसपासका जिल्लाका नागरिकलाई समेत प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास गरिएको छ।