भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हाम्रा भाषा, संस्कृति र सभ्यताहरू हराउँदै गइरहेको बताएका छन्।
मातृभाषा नेपाल भाषाको प्रयोग, प्रचार र प्रवर्द्धन विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको मूल्य, मान्यताहरू हराउँदै गर्दा संस्कृति एवम् सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा सबैको ध्यान जान जरुरी रहेको बताएका हुन्।
उनले भने, ‘हाम्रा भाषा, संस्कृतिहरू अहिले मेटिँदै गएका छन्। हराउँदै गएका छन्। हाम्रो सभ्यताहरू समेत हराउँदै गइरहेका छन्। अनुशासन, मूल्य, मान्यताहरू हराउँदै गएको महशुस भइरहेको छ। यसलाई सबैले ध्यान दिएनौँ भने भोलिको पुस्ताले के गर्लान् यो सोच्न आवश्यक छ। संस्कृति सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा हाम्रो ध्यान जान जरुरी छ।’
साथै उनले अहिलेको आवश्यकता र मागलाई बुझ्दै सुधार गर्दै जानुपर्ने अवस्था रहेको समेत बताए। उनले अहिले सरकारले संविधानमा देखिएका कमीकमजोरीहरूलाई संशोधन गर्ने कुरा उठाएको र त्यसलाई संशोधन गर्दा आवश्यक कुराहरू के छन् त्यतातिर सरकारको ध्यान जानुपर्ने बताए।