कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थको कडाइका साथ नियमन गरिरहेको बताएका छन्।
शनिवार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य प्रदार्थको अनुगमन, निरीक्षण तथा जाँच परीक्षणका कार्यहरू भइरहेको बताएका हुन्।
उनले भने, ‘सरकारले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थको कडाइका साथ नियमन गर्न हरेक आर्थिक वर्षमा बजेट र कार्यक्रमको व्यवस्था गरेको हुन्छ। चालु आर्थिक वर्षमा हामीले मोबाइल ल्याप भ्यान परिचालन गरी बजार तथा उद्योगको अनुगमन गरी अन्दस्पोट जाँच परीक्षण गरिरहेका छौ।’
उनले बजारमा विक्री वितरण हुने खाद्य बस्तुमा प्रयोग हुने हानिकारक विषादीको तत्त्वहरूको जाँच परीक्षणमा वैज्ञानिक विधिहरूको अवलम्बन गरिरहेको बताए। उनले विकट ठाउँमा पनि जाँचको लागि सहज बनाउनुपर्ने बताए।