शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रारम्भिक बाल विकास शिक्षा सम्बन्धी दस्ताबेजमा नै भ्रम भएको बताएका छन्।
सङ्घीय सांसदहरूको सहकार्य समन्वय समूहले शनिवार आयोजना गरेको प्रारम्भिक बाल विकास सम्बन्धी परामर्श कार्यक्रममा बोल्दै उनले (इसिडि) प्रारम्भिक बाल विकासलाई आधारभूत शिक्षासँग जोड्ने कि नजोड्ने भनी स्पष्ट नभएको बताएका हुन्।
‘हाम्रो शिक्षा सम्बन्धी डकुमेन्टमा भ्रम छ। शिक्षा नीतिमा के लेखेको छ भने एकदेखि आठ कक्षासम्म आधारभूत भनिएको छ। अर्को कुनै दस्ताबेजमा हेर्नुहोस् एक वर्ष इसिडिदेखी आठसम्म आधारभूत भनिएको छ त्यो पनि सरकारकै दस्ताबेजमा। त्यसैले सबैभन्दा पहिला हामी स्पष्ट हुनुपर्छ इसीडी अथवा प्रारम्भिक बाल विकासलाई औपचारिक शिक्षासँग जोड्ने कि नजोड्ने,’ उनले भने।
उनले नीतिगतरुपमा नै प्रारम्भिक बाल विकासलाई विद्यालय शिक्षाबाट अलगै बनाइ छुट्टै विषयको रूपमा अगाडि बढाउनुपर्ने बताए।
उनले शिक्षा सम्बन्धी कानुन बनाउँदा नेपाल सरकारको शिक्षा नीति र रणनीतिको आधारमा बनाउनुपर्ने बताए।