सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।

भारतीय सीमाबाट कोही पैदल र कोही स्कुटरमा आइरहेका बेला शङ्का लागेर खानतलासी गर्दा उनीहरूको साथबाट २२ ग्राम ८१ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उनीहरूको गोजी र झोला खानतलासी गर्दा ६ जनाले विभिन्न मात्रामा ब्राउन सुगर लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। शक्रबार पक्राउ परे पनि उनीहरूलाई प्रहरीले शनिबार दिउँसो सार्वजनिक गरेको हो।

प्रहरीले इटहरी–१५ का अजय चौधरीको साथबाट २ ग्राम ४ सय ७० मिलिग्राम, कोशी–१ का हिमालकुमार मण्डल र करणकुमार मण्डलको साथबाट ३ ग्राम २ सय ४० मिलिग्राम, कोशी–२ का दयानन्द यादवको साथबाट १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर फेला पारेको हो।

यस्तै, धरान–१७ का विवेक विश्वकर्माको साथबाट २ ग्राम १ सय ५० मिलिग्राम, धरान–१७ कै संगम राई र धरान–१९ का सिमसन राईको साथबाट २ ग्राम २ सय ३० मिलिग्राम, बराहक्षेत्र–७ का कौशल कालिकोटेको साथबाट ६ ग्राम ५ सय ३० मिलिग्राम, याकुव राईको साथबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।

प्रहरी अनुसन्धानका अनुसार लागुपदार्थ दुर्व्यसनीले पछिल्लो समयमा ९ मिलिग्रामको एक डोज बनाउने गरेका छन्। एक डोजको करिब १५ सय रुपैयाँदेखि २ हजार रुपैयाँ पर्ने गरेको छ। प्रहरीले पक्राउ गरेका ९ जना युवाको साथबाट बरामद २२ ग्राम ८१ मिलिग्राम ब्राउनसुगरबाट २ हजार ४ सय ५३ डोज बन्ने र दुर्व्यसनीलाई बिक्री गर्ने उद्देश्यले भारतीय गिरोहबाट ब्राउन सुगर आपूर्ति हुने गरेको छ।

कोशी प्रदेशको राजधानी विराटनगस्थित लागुऔषध नियन्त्रण व्युरो र सुनसरीको लौकहीस्थित इलाका प्रहरी कार्यालयबाट संयुक्त खटिएको टोलीले ब्राउन सुगरसहित दुर्व्यसनीलाई पक्राउ गरेको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनुसन्धानका लागि राखिएको छ।