दलित समुदायमाथि उत्पीडन बढ्दै गएकाले त्यसलाई रोक्न तथा मुक्तिका लागि भन्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ। 
शनिवार पत्रकार सम्मेलनको आयोजन गरी अगामी जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गरिने राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजकले बताएका छन्।
आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा।निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए।
आफूहरूले गर्ने गोलमेच सम्मेलन कुनै राजनीतिक पार्टी या संस्थाबाट प्रेरित वा परिचालित नभई नेपाल र दलित समुदायका लागि मौलिक साध्य हुने विश्वकर्माले ठोकुवा गरे।
सदियौँ देखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समिक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य तीन वटा एजेण्डमा बहस हुने जानकारी दिए।
सामाजिक अभियन्ता तथा लेखक होमराज आचार्यले २१ औँ शताब्दीमा पनि दलित समुदायमाथि छुवाछुत र अपमानको डण्डा वर्षिनु दुर्भाग्य भएको बताए।
देशमा भएको लामो सङ्घर्ष र परिवर्तनपछि दलित तथा उत्पीडित वर्गले न्यायसहित समानतापूर्वक बाँच्न पाउने अधिकार उपभोग गर्न नपाएको बताउँदै भने, ‘परिवर्तन त भयो त्यही परिवर्तनसँगै दलितमाथि नयाँ किसिमले उत्पीडन लादिन थालेको छ।’ ‘यसै सन्दर्भमा गोलमेच सम्मेलनले त्यस किसिमको षड्यन्त्रलाई चिर्ने आशा पलाएको छ, आयोजकलाई शुभकामना,’ आचार्यले थपे।
गोलमेच सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक (अग्नि शिखा) ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरूबाट सम्मेलनको लागि काठमाडौँ आउने क्रम जारी रहेको जानकारी दिँदै, सम्मेलन दलित मुक्तिको लागि कोषे ढुङ्गा सवित हुने विश्वास लिए।
राष्ट्रिय दलित गोलमेच सम्मेलन मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले सात दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै वैचारीकी र नवीन आन्दोलनको आवश्यकता रहेको बताए।
गोलमेच सम्मेलनका सचिवालय सदस्य तारासिंह विकले ६० लाख दलितलाई गोलमेच सम्मेलनले एक ठाउँमा ल्याउने आधार खडा गर्ने विश्वास लिए।
अर्का सचिवालय सदस्य तथा अधिवक्ता निर्मला परियारले दलित उत्पीडनविरुद्ध विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले अभियान चलाए पनि खासै फरक नपरेकाले गोलमेचबाट नयाँ निकास निस्किने बताइन्।
मूल आयोजक समिति सदस्य मनोज रामले आजको समयमा पनि तराई क्षेत्रमा व्यापकरुपले दलित समुदायमाथि अन्याय भइरहेको र हालचालै दलितको घरलाई डोजर चलाएर विस्थापित गरिएको बताए।