सुर्खेतको वीरेन्द्रनगरमा जारी टी।बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौँ दिन गण्डकीले कोशी सामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ।
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरूले शनिवार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरुले २ सय ५६ रनको योगफल खडा गरे।
पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २ सय ५७ को लक्ष्य खडा गर्दा गण्डकीका बलरहरूले नियन्त्रण गुमाउँदाको परिणामस्वरूप कोशीको स्कोर बोर्डमा ५० अतिरिक्त रन जोडिन पुग्यो। 
टस जितेर पहिला ब्यांटिग थालेको कोशीका लागि सुगम बुढाथोकीले ७५ बल खेल्दै नटआउट सर्वाधिक ६८ रनको योगदान दिँदा अफ्फन ताहिर र रविन मण्डलले समान ३९ रन जोडे भने सकुशल श्रेष्ठले ३० रन बनाए।
३ दशमलव ६ को औसतमा अरूभन्दा किफायती साबित भएका गण्डकीका सुशील भुसालले आफ्नो जिम्माको १० ओभर बलिंग गर्दा ३ मेडन र ४६ डट फाल्दै ३६रन दिएर ४ विकेट लिए।
यस्तै रिदम पाण्डे र अनिष राउतले समान दुई दुई विकेट लिए। ब्याटिंगमा ४ चौका र एक छक्कासहित ३९ रन तथा बलिंगमा ७ ओभर ४ बल बलिंग गर्दै ४ मेडन ४६डट खेलेर ५ विकेट लिएका कोशीका रविन मण्डल प्लेयर अफ दि म्याच बने।
२ सय ५७ रनको मध्यम लक्ष्य पाए पनि बलिंगमाझैं ब्यांटिगमा पनि फितलो प्रदर्शन गरेको गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले नटआउट १२ रनबाहेक अरूले दोहोरो अङ्क जोड्न सकेनन्।
फलस्वरूप जम्मा २२ ओभर ४ बलमा ८५ रन मात्र जोडेर गण्डकी अलआउट हुन पुग्यो।
अहिलेसम्म  खेलेका ४ मध्ये ३ खेलमा जीतसहित ६ अङ्क जोडेको कोशी अङ्कतालिकाको पहिलो नम्बरमा उक्ल्उिको छ भने सुरुदेखि नै पुछारमा रहेको गण्डकी तेस्रो खेलसम्म अङ्कविहीन पुछारमै रहेको छ।