विपद्को नाममा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकाले नदीजन्य सामाग्रीको उत्खनन गरी ठेकेदारलाई दिएको पाइएको छ।
हेटौँडा उपमहानगरपालिकाले खहरे तथा खोला उत्खनन कार्यमा बदमासी भएको पाइएको हो। ठेक्का मार्फत खोला खहरे उत्खनन गर्ने अनुमति दिएको ठेकेदारलाई विपद् व्यवस्थापन अन्तर्गत हेटौँडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटेबाट २६ हजार घन मिटर उत्खनन तथा बिक्री गर्ने गरी उत्खनन गरिरहेको छ।
हेटौँडा उपमहानगरपालिकाले नियम मिचेर ठेकेदारको पक्षपोषण हुने गरी खोला खहरे उत्खनन तथा बिक्री वितरण गरी विपद्को नाममा वितण्डा गर्दै बदमासी गरेको हो। 
जिल्ला विपद् व्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको संयोजकत्वमा बसेको बैठकको निर्णय अनुसार हाल हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा पोइन्ट बनाई उत्खनन कार्य भइरहेको छ।
यस क्रममा हेटौँडा उपमहानगरपालिकाले विपत् बाहेक अन्य क्षेत्रमा ठेक्का मार्फत खोला उत्खनन गरिरहेको छ। हेटौँडा, १६ मा पर्ने घ्याम्पेसहित आसपासका खहरे खोलामा ४६ हजार घनमिटर नदीजन्य सामाग्री उत्खनन गर्ने गरी ठेक्का लगाएको थियो तर, वडाका स्थानीयवासी, वडा कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले उत्खनन गर्न नदिएपछि उक्त ठाउँमा उत्खनन कार्य अघि बढ्न सकेको थिएन।
निकुञ्जले उक्त क्षेत्रमा जम्मा १४ हजार घनमिटर भन्दा उत्खनन गर्न नदिने बताएपछि उपमहानगरपालिकाले बाकी अपुग घन मिटरको नदीजन्य सामाग्री विपतबाट उत्खनन गरी ठेकेदारलाई दिने भनि शोधभर्ना गरिएको पाइएको छ।
विपद् व्यवस्थापनको बैठकले निर्णय गरी गरिएको उत्खनन क्षेत्रको पदार्थ उपमहानगरपालिकाले घाटगद्धी गरी निश्चित ठाउँमा जम्मा पारी ठेक्का खुलाएर बिक्री गर्ने प्रावधान छ तर, निकुञ्ज क्षेत्रको उत्खनन गर्न नपाएपछि उपमहानगरपालिकाले विपत् तर्फकै सामाग्री ठेकेदारलाई दिने सहमति गरेको छ, जुन कानुन विपरीत छ।
यस विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले भने कार्यपालिकाको बैठकले नै निर्णय गरेर ठेक्का लगाइएको स्थानबाट नपुगेको सामग्री विपत् तर्फबाट भराइदिने निर्णय भएको बताए। कार्यपालिका बैठक भने अन्तिम पटक गत जेठ १३ गते मङ्गलवार बसेको थियो। यस विषयमा प्रमुख गौतमले सोझै झुट बोलेका छन् भने उपमहानगरपालिकाले नियम विपरीत विपद् तर्फको नदीजन्य सामाग्री सोझै ठेकेदारलाई दिने भएको छ।
करिब ३२ हजार घनमिटर नदीजन्य पदार्थ कानुन विपरीत उपमहानगरपालिकाले ठेकेदारलाई दिने सहमति गरेको छ। घ्याम्पेबाट उत्खनन गर्न निकुञ्जले नदिएपछि उपमहानगरपालिकाले विपद् तर्फबाट उत्खनन गरिरहेको हेटौँडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटे क्षेत्रको सामाग्री ठेकेदारलाई दिन लागेको हो। कानुन विपरीत यसरी विपद्को नाममा प्राकृतिक दोहन गरी सोझै ठेकेदारलाई बेच्दा समेत सम्बन्धित नियामक निकायले यस तर्फ ध्यान दिएको छैन।