मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरूलाई दुर्व्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन्। 
बिहीबार जनकपुरधाममा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले आजभोलि थोरै दुरीमा पटक पटक चेक जाँच गरेर ट्राफिक चेकिङ्गको नाममा सवारी चालक र यात्रुहरूलाई दुःख दिने गरेको गुनासो गरे।
उनले खास गरी एउटा जिल्लाबाट अर्को जिल्ला जाने क्रममा एक किलोमिटर भन्दा कम दुरीमा दुई–दुई पटक चेकिङ्ग गर्ने गरेकाले यस्तो नगर्न ट्राफिक प्रहरीहरूलाई सुझाव दिए।
उनले पासो थापेको जस्तै गस्ती लगाएर दूर दराजका इलाकाहरूमा गाडीहरूको अनावश्यक चेकिङ्ग गर्ने गरेको यात्रुहरूले कयौँ पटक गुनासो गरेको बताए। उनले व्यवस्थित रूपमा रुट निर्धारण गरेर चेकजाँच गर्न ट्राफिक ईन्चार्जहरुलाई निर्देशन दिए ।
मुख्यमन्त्री सिंहले अभिभावकहरूलाई आफ्नो छोराछोरीलाई उमेर नपुगेसम्म लाइसेन्स बिना सवारी साधन चलाउन नदिन आग्रह गरे।
संसारमा मानिसको ज्यान भन्दा महत्त्वपूर्ण केही नभएको भन्दै उनले सवारी साधन चलाउँदा ध्यान दिएर चलाउन सुझाव दिए। मुख्यमन्त्री सिंहले सबै जनालाई सडकको नियम पालना गर्न आग्रह गरे।