नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपालका प्रसिद्ध साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको निधनप्रति पशुपति आर्यघाटमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले रसिकको पार्थिव शरीरमा राष्ट्रिय झन्डा पनि ओढाए। 
मङ्गलवार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो। उनले गणेश रसिक वास्तविक रूपमा नेपालको गायन,सङ्गीत र साहित्य क्षेत्रको ज्ञानका रत्न नै रहेको बताए। नेपाली साहित्य, गायन एवं सङ्गीतको विकासमा महत्त्वपूर्ण योगदानहरू गरेको पनि उनको भनाई छ। 
रसिकले क्षितिजलाई छुन खोज्दा (कथा सङ्ग्रह), एउटा सारङ्गी छुन खोज्दा (कथा सङ्ग्रह), रसिकका गीतहरू (गीत सङ्ग्रह) आकाश गंगाको ओतमुनी (उपन्यास), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण), बिलाउँदै गएका गीत (कथा सङ्ग्रह), दशगजामा उभिएर हेर्दा उपन्यास, स्वाधीनताको पीडा (गीत सङ्ग्रह) पेरुङ्गो संस्करण (पाँच कृति) जस्ता महत्त्वपूर्ण साहित्यिक कृतिहरू रचना गरेका थिए।  
उनको निधनमा मुलुकले, नेपाली साहित्य, गायक एवं सङ्गीतको क्षेत्रले र हामी सबैले एक मूर्धन्य प्राज्ञिक नक्षत्रलाई गुमाएको छ। यी नै कृतिहरूमा गणेश रसिक सदा सदा बाँची रहने पनि खनालको भनाई छ।
नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा प्रोस्टेट क्यान्सरको उपचारको क्रममा रसिकको निधन भएको थियो। उनको अन्तिम संस्कार मङ्गलवार पशुपतिस्थित विद्युतीय शव गृहमा गरिएको छ।
रसिकले श्री रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५) नेपाल  सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको  सदस्य सचिव लगायत उच्च जिम्मेवारी सम्हालेका थिए।
पूर्वी नेपालको टेम्केमैयुङ गाउँपालिका वडा नं.२ छिनामखुको नौलागाँउ भोजपुरमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल असोज ४ गते जन्मिएका उनी पछिल्लो समय इलामको सूर्योदय नगरपालिका फिक्कल रम्फोकमा बस्दै आएका थिए। 
उनका एक छोरा, एक छोरी, एक बुहारी, एक नाति, एक नातिनी रहेका छन्। छोरा निमेश रसिकको २०६७ सालमा निधन भइसकेको छ भने श्रीमती निरा रसिक राईको कोरोना सङ्क्रमण बाट २०७८ सालमा निधन भएको हो।
‘रातो भाले क्वायक क्वायक सुत्केरीलाई खुवाए’ ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’लगायतका कालजयी गीतहरू चर्चामा छन्।
उनी प्रथम कविता महोत्सवमा प्रथम पुरस्कार, २०२८, राष्ट्रिय युवा महोत्सवमा कथामा प्रथम पुरस्कार, २०२४ शुभराज्यभिषेक पदक, २०३१ ,गोर्खा दक्षिण बाहु, २०३१ ,रेडियो नेपाल सङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार, २०३४ ,रत्नश्री स्वार्णपदक, २०४४, वीरेन्द्र ऐश्वर्य पदक, २०४५ गद्दी आरोहण पदक, २०५३ ,नागरिक सेवा पदक, २०५३ छिन्नलता गीत पुरस्कार, २०५६,पद्मश्री साहित्य सम्मान, २०६३ ,लाइफ टाइम एचिभ्मेन्ट इमेज च्यानल पुरस्कार, २०७३ राष्ट्रिय कलाश्री पुरस्कार, २०७६ नारायण गोपाल सङ्गीत पुरस्कार, २०७६,नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार पदक लगायतबाट सम्मानित भइसकेका छन्।