वरिष्ठ साहित्यकार एवम् गीतकार गणेश रसिकको निधन भएको छ। ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको उनी निकट सञ्चारकर्मी राजकुमार दाहालले जानकारी दिए।
७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए। रसिककी छोरी बेलायतबाट भोलि (सोमबार) नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ।
अहिले उनको शव टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ। भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए।
जन्मथलो भोजपुर भएपनि कर्मथलो इलाम बनाएका उनका ‘क्षितिजलाई ‘छुन खोज्दा’ (कथा सङ्ग्रह २०२४), ‘एउटा सारङ्गी छुन खोज्दा’ (कथा सङ्ग्रह २०२७), ‘रसिकका गीतहरू’ (गीत सङ्ग्रह २०४५), ‘आकाशगङ्गाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ (संस्मरण २०५५), ‘बिलाउँदै गएका गीत’ (कथा सङ्ग्रह) २०५८, ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास २०६३), ‘स्वाधीनताको पीडा’ (गीत सङ्ग्रह २०६८), ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७३) लगायत कृतिहरू बजारमा छन्।