स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिता जगत् अत्यन्तै जोखिममा रहेको बताएका छन्।
नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा वृहत् स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको विकासका निम्ति, पारदर्शी समाज निर्माण गर्नका निम्ति, सुशासन कायम गर्नका निम्ति पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहे पनि अझै पत्रकारिता जगत् जोखिमै रहेको बताएका हुन्।
उनले भने, ‘पत्रकारिता जगत् अत्यन्तै जोखिममा छ। एकदमै महत्त्वपूर्ण भूमिका पत्रकारहरूले निर्वाह गर्नुभएको छ। वास्तवमा लोकतन्त्रको विकासका निम्ति, पारदर्शी समाज निर्माण गर्नका निम्ति, सुशासन कायम गर्नका निम्ति पत्रकार र यो पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ। देशका निम्ति, समाजका निम्ति बोलिरहने पत्रकारहरूको आफ्नो निम्ति के भइरहेको छ भन्ने कुरा राज्यले धेरै ख्याल गरिरहेको छ जस्तो देखिँदैन। ’
साथै उनले पत्रकारिता क्षेत्रका लागि एउटा व्यवस्थित योजनाका साथ राज्य अगाडि जानुपर्ने बताए। उनले पारदर्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ति पत्रकार जगतको उपस्थिति अनिवार्य रहेकाले यो जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी रहेको बताए।
उनले भने, खास गरी पत्रकारिता क्षेत्रका लागि हामीले एउटा व्यवस्थित योजनाका साथ अगाडि जानुपर्छ। समाजका निम्ति पारदर्शी समाज निर्माण गर्न, सुशासन कायम गर्नका निम्ति पत्रकार जगतको उपस्थिति अनिवार्य छ। यो जगतमा काम गर्नेहरूलाई उत्साहित बनाउन जरुरी छ। जीवन निर्वाहको व्यवस्थित अवसर पत्रकारिताभित्र हुनुपर्छ भन्ने विषयलाई आत्मसात् गरेर त्यही अनुसारको योजनाहरू बनाइनुपर्छ। पत्रकार महासङ्घको सदस्य सङ्ख्या कति हो ? त्यसको यकिन विवरण हामीलाई दिएर त्यो सदस्य सङ्ख्याको आधारमा हामीहरूले पत्रकारहरूलाई निःशुल्क उपचार गराउन मन्त्रालय तत्पर छ।’