मोरङको बेलबारी नगरपालिका–२ स्थित कबिर माध्यमिक विद्यालयमा अंग्रेजी कक्षा सञ्चालनका लागि मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद डा. सुनिल शर्माले ५ लाख रुपैयाँ सहयोग गरेका छन्।
जेठ १६ गते विद्यालयमा आयोजित कार्यक्रममा सांसद शर्माले उक्त रकमको चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण मेन्याङ्बो र प्रधानाध्यापक अभय लिम्बुलाई हस्तान्तरण गरेका हुन्।
सांसद शर्माले शिक्षा क्षेत्रको सशक्तीकरण र ग्रामीण क्षेत्रमा अंग्रेजी माध्यमको पहुँच बढाउने उद्देश्यले सहयोग गरिएको बताए। कार्यक्रममा बोल्दै उनले स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्रवाह गर्न अंग्रेजी कक्षा महत्वपूर्ण हुने उल्लेख गरे।
उक्त विद्यालयमा अंग्रेजी कक्षा सञ्चालनका लागि विभिन्न दाताहरुले लाखौँ रुपैयाँ सहयोग गरिरहेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेन्याङ्बोले सांसद शर्माको योगदानले अभियानलाई थप गति दिने विश्वास व्यक्त गरे।