सार्वजनिक यातायात बचाऊ सङ्घर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ। 
आज यातायात सम्बन्धी ७ बुँदे माग पुरा गराउनको लागि सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो। 
समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सवारी साधनले गैरकानुनी रूपमा आफूखुसी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ।
प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरी खान देऊ भन्नको लागि यातायात व्यवसायीहरू सडकमा आएको बताए। 
उनले भने,‘नेपाली यात्रुवाहक सवारी साधन, मालवाहक सवारी साधन हाम्रो विस्थापित भइसक्यो। अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो। हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ। नितान्त सार्वजनिक यातायात बचाएर गरी खान देऊ भन्नको लागि हो। लाखौँ यातायात व्यवसायी र स्वरोजगार साथीहरूलाई विस्थापित गर्ने ऐन आएको छ त्यो फिर्ता हुनुपर्छ।’
साथै उनले पटक पटक सरकारसँग गरेका मागहरू र सर्वोच्चको गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताए।  
सङ्घर्षका कार्यक्रमका मागहरू यस्ता छन् :
१. बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न माग गर्दछौँ।
२. विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सवारी साधनले गैरकानुनी रूपमा आफूखुसी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गर्दछौँ।
३. बागमती प्रदेश सरकारले मिटर जडित ट्याक्सीको सट्टा भर्नामा लगाएको सिण्डिकेट खारेज गरी सङ्घीय सरकारले तयार पारेको मापदण्ड यथाशीघ्र लागु गरी सट्टा भर्नाको समस्या समाधान गर्न माग गर्दछौँ।