प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ। 
शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रज्ञा स्मृति प्रतिष्ठानले नेपाल पुलिस क्लब भुटी मण्डपमा जेठ २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती हेटौडाको सहयोग साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घ र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो। 
प्रतिष्ठानकी अध्यक्ष रेनु दाहालले प्रतियोगितामा पुरुषतर्फ ५ वटा वजन समूह र पुरुषतर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी भन्दा माथिका समूहबीच प्रतिस्पर्धा हुने र महिलातर्फ खुला प्रतिस्पर्धा हुने जानकारी दिइन्। 
उनले सबै जिल्ला तथा प्रदेशका महिला र पुरुष गरी १०० जनाको सहभागिताको अपेक्षा गरेको बताइन्। उनले प्रत्येक तौलका विजेता खेलाडीहरूलाई मेडल नगद पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिनुका साथै विभिन्न विधामा पुरस्कारको कुल राशि १२ लाख १० हजार रहेको पनि जानकारी दिइन्। 
प्रतिष्ठानले स्व. ज्ञानु दाहाल र स्व. प्रकाश दाहालको स्मृतिमा स्थापनाकालदेखि नै स्वास्थ्य, खेलकुद पर्यटन विकासका क्षेत्रमा विविध गतिविधि सञ्चालन गर्दै आइरहेको जानकारी दिइन्।