राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार नेपाली सबैको परिचय र मेरुदण्ड भएको बताएका छन्।
कार्यक्रम व्यवस्थापन सङ्घ नेपालको ५ औँ वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा बोल्दै उनले नेपाल विविध कला, संस्कृति र लोक परम्पराको लागि निकै धनी राष्ट्र भएको बताएका हुन्।
उनले भने, ‘कार्यक्रम व्यवस्थापन सङ्घ नेपालले कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको छ। कुनै पनि कार्यक्रम व्यवस्थापन गर्दा कार्यक्रमको समारोहको चरित्रसँग मिल्नेगरि नेपाली कला, साहित्य, संस्कृति र पर्यटनलाई टेवा पुग्ने गरी कार्यक्रम स्थललाई सघाउनु भयो भने हाम्रो नेपालको परम्परागत संस्कृति र कलाको पनि प्रचार हुनेछ। र पर्यटनमा पनि आकर्षण बढ्ने छ। नेपाल विविध कला, संस्कृति र लोक परम्पराको लागि निकै धनी राष्ट्र हो। नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार हाम्रो परिचय र मेरुदण्ड हुन्।’
साथै उनले कार्यक्रम व्यवस्थापन सङ्घ नेपालले गर्ने हरेक कार्यक्रमहरूले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरू कूटनीतिक रूपमा स्थापित भइरहेको बताए। उनले हरेक कार्यक्रमहरूले आन्तरिक पर्यटनहरूको प्रवर्द्धन र सामाजिक सांस्कृतिक जागरणमा समेत सकारात्मक प्रभाव पारिरहेको समेत बताए।
उनले भने, ‘कार्यक्रम व्यवस्थापन सङ्घ नेपालले गर्ने हरेक कार्यक्रमहरूले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरू कूटनीतिक रूपमा स्थापित भइरहेका छन्। जसले हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यस्ता कार्यक्रमहरूले आन्तरिक पर्यटनहरूको प्रवर्द्धन र सामाजिक सांस्कृतिक जागरणमा समेत सकारात्मक प्रभाव पारिरहेका हुन्छन्।’