सप्तरीमा जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ।
आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार आज बिहान घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो।
हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय लीलबहादुर मगरले बताए। बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाही खेतमा बनाएको टौवा (छाप्रो) मा नै सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए।