चितवनको माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको अस्तित्व सङ्कटमा परेको गुनासो सार्वजनिक भइरहेका बेला राष्ट्रिय तथा स्थानीय सरोकारवाला टोलीले गाउँको स्थलगत अवलोकन गरेको छ।
चितवनमा यही जेष्ठ १२ गतेबाट जारी पाँच दिने ‘अन्तर्राष्ट्रिय आदिवासी जनजाति विधिमा आधारित जैविक पुनः स्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक पद्धति’ कार्यशाला प्रशिक्षणका सहभागीहरू, स्थानीय सञ्चारकर्मी, बोटे संरक्षण अभियन्ता, अनुसन्धानकर्ता र नेपालका आदिवासी जनजातिसँग सम्बन्धित सङ्घ सस्थाहरुको सहभागितामा अध्ययन अवलोकन कार्यक्रम आयोजना गरिएको थियो।
सो टोलीले जेठको १४ गते उक्त गाउँको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था अवलोकन गरेको हो। टोलीले बोटे समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको जीवनशैली, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सरकारी सेवाबाट वञ्चित अवस्थाबारे विस्तृत जानकारी लिएको थियो।
बोटे समुदायकी महिला माइली बोटेले भावुक हुँदै उक्त समुदायमाथि हाल नदीबाट माछा मार्न लगाइएको रोकले उनीहरूलाई वैकल्पिक आय स्रोतबिनानै जीविकाको सङ्कटमा पुर्याएको बताइन्। ‘न खेत छ, न काम, माछा मार्न पनि पाइन्न अब कसरी बाच्ने ?’
सदियौँदेखि माछा माछा मार्ने, सुन चाल्ने र नदीमा डुङ्गा तार्ने पेसा सङ्कटमा परेको समुदायका सदस्यहरूले बताएका छन्। नदीकै स्रोत र माछा मारेर दैनिक खानामा आश्रित बोटे समुदायको सबै पेसा सङ्कटमा परेको र अहिले आएर दैनिक जीवनयापनमा सङ्कट उत्पन्न भएको चितवन चन्द्र पुरीकी नुमा बोटेले बताइन्।
अवलोकन भ्रमण टोलीका सदस्य तथा नेपाल आदिवासी जनजाति महासङ्गका राष्ट्रिय उपाध्यक्ष युवराज जिरेलका अनुसार, नेपालमा धेरै आदिवासी जनजाति खाद्य सङ्कटमा पुग्न लागेको बताए।
आदिवासी बोटे समुदायको रैथाने खाना र खाद्य व्यवस्थामा गम्भीर असर गरेको सो कार्यक्रममा जानकारी गराए। ‘हामीले बजारमा पाउने खाना मात्र खाएर हाम्रा नयाँ पुस्ताले हाम्रै खाना बनाउन नसक्ने भए, स्कुलमा पनि हलिवा र चना खुवाउँछन्। स्कुलमा हलुवा खुवाएपछि बच्चाले घरको खाना मन पराउँदैनन्।’ नजिकै भएको विद्यालयमा रैथाने खाजा मात्रै खुवाउन सके पनि परम्परागत खानामा गुम्दै गएको नयाँ पुस्ताको विश्वास पुनर्स्थापित हुने खाद्य तथा कृषि सङ्गठन नेपालका राज हुमागाईँले बताए।
स्थानीय बासीहरूले बोटे समुदायको संस्कृति, परम्परागत सीप, रैथाने खानामा भएको समस्या, जमिन र सहकार्यको अभाव र दुःखका गाथाहरू पनि सुनाएका थिए। टोलीका सदस्यहरूले बोटे समुदायको ऐतिहासिक पहिचान र योगदानलाई सम्मान गर्दै खाद्य सुरक्षाको लागि बोटे समुदायकै पुस्तैनी ज्ञानको नयाँ पुस्तामा हस्तान्तरण जरुरी रहेको जानकारी गराइयो।
बोटे गाउँ नेपालका हजारौँ समुदायको प्रतिनिधि समुदाय हो। यो अवलोकनको विषय मात्र होइन, सरकारी जिम्मेवारी, रैथाने खाद्य व्यवस्थाको सम्मान, रैथाने ज्ञानको अभिलेखीकरण र समुदायको सक्रिय सहभागिता बिना खाद्य सुरक्षा सुनिश्चित गर्न गाह्रो हुने खाद्य तथा कृषि सङ्गठन मुख्यालयका योन फर्नाण्डेजले बताए।
खाद्य तथा कृषि सङ्गठन नेपालको आयोजनामा जेष्ठ १६ गते सम्म सञ्चालन हुने ‘आदिवासी जनजाति विधिमा आधारित जैविक पुनः स्थापना र खाद्य प्रणालीहरूको परिचयात्मक पद्धति’ नामक कार्यशाला तालिममा आदिवासी जनजातिको रैथाने ज्ञानमा आधारित खाद्य व्यवस्थाको परिचयात्मक विधि तथा रैथाने विधिमा आधारित जैविक पुनर्स्थापना पद्धतिको बारेमा विस्तृत प्रशिक्षण भइरहेको छ।
नेपालका सातै प्रदेश र ३० जिल्लाका ५५ जना उक्त प्रशिक्षणमा सहभागी छन्न। नेपाल लगायत भारत, ब्राजिल, इक्वेडर, स्पेन, फ्रान्स लगायत ८ देशका सहभागी र प्रशिक्षकबाट नेपालमै पहिलो पटक यो विषयमा प्रशिक्षण आयोजना गरिएको हो।