श्रीलंकामा बौद्ध धर्मावलम्बी दर्जनौं तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। १४ जना गम्भीर घाइते भएका छन्।
दशकौं यताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ।
उक्त बसमा क्षमताभन्दा बढी करिब ७० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
स्थानीय प्रहरी अधिकारीका अनुसार घटनास्थलमै १५ र उपचारका क्रममा अस्पतालमा ६ जनाको मृत्यु भएको हो। अन्य १४ जना गम्भीर छन्।
उक्त बस श्रीलंकाको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल) को दुरीमा रहेको केन्द्रीय शहर कुरुनेगालातर्फ जाँदै थियो।
श्रीलंकामा वर्षेनि औसत तीन हजार सडक दुर्घटना हुने गरेका छन्। अत्यधिक दुर्घटना हुने गरेका कारण श्रीलंकाका सडकहरू संसारकै सबैभन्दा खतरनाक सडकमध्ये पर्ने गरेका छन्।
