मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास गरेका छन्।
सोमबार मुख्यमन्त्री सिंहले जनकपुरधाम १४ स्थित मणि मण्डपको पछाडि रहेको गुठीको जग्गामा निर्माण हुन लागेको प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रम पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले भवन निर्माण कार्य सम्पन्न भएपछि शैक्षिक क्रियाकलाप गर्न प्रतिष्ठानलाई सहज हुने बताए।
उनले निर्माण हुन लागेको उक्त भवनका लागि अढाई करोडको टेण्डर निकालिएको र समयमै काम सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए।
उनले समय अगावै काम सम्पन्न भए ठेकेदारलाई इन्सेन्टिभ दिने र समयमा काम गर्न नसके पेनाल्टी लगाउने रणनीति लिएर काम गर्न निर्देशन दिएको बताए।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवले १८ बिघा गुठीको जग्गामा एकेडमिक भवनसँगै, कक्षा कोठा, प्रयोगशाला, अस्पतालको भवन निर्माण हुने जानकारी दिए। उनले यो भवनको निर्माणसँगै प्रतिष्ठानको शैक्षिक गतिविधि बढ्ने नै छ यसका साथै स्वास्थ्य सेवामा समेत आमूल परिवर्तन आउने बताए।