नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै नसक्ने बताएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्रतिर जाने कुरा विकल्प नभएर पश्चगमनमात्रै रहेको बताएकी हुन्। पश्चगमनको पक्षमा आफूहरू यसअघि कोही पनि नरहेको र नहुने पनि बताइन्।
उनले भनिन्, ‘गत चैत १५ गते देशको राजधानी काठमाडौँमा दुई वटा कार्यक्रम भए। समाजवादी मोर्चाको नाममा हाम्रो पार्टीसहित ५० औँ हजारको उपस्थितिमा जनप्रदर्शन भयो। गणतन्त्रको पक्षमा, संविधानको पक्षमा, परिवर्तन परिवेशको पक्षमा आफ्नो दृढता व्यक्त गर्यौँ। तीनकुनेको प्रदर्शनको प्रत्यक्ष कमाण्ड कथित कमाण्डर दुर्गा प्रसाईँले गरेका छन्। तर, हामी सबैले के बुझेका छौँ भने यसको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन्। उनको उक्साहटमा, उनले पटक–पटक गरेका आह्वानमा, अपिलमा युवाहरू समाहित भएका छन्। म सरकारसँग सभामुखमार्फत के माग गर्न चाहन्छु भने–राजतन्त्र अहिलेको व्यवस्था होइन। संविधान भन्दामाथि कोही छैन। कानुनभन्दा माथि कोही छैन। त्यसकारण चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन्, चाहे सामाजिक सञ्जालमा सक्रिय, अहिले लुकेर बसेका दुर्गा प्रसाईँ हुन्। सबैलाई कारबाही गरोस्।’
उनले तीनकुनेको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह र कथित जनकमाण्डर दुर्गा प्रसाईँलाई तत्काल कारबाहीको दायरामा ल्याउनसमेत सरकारसँग माग गरिन्। उनले अहिलेको राजतन्त्र कि गणतन्त्र भन्ने प्रश्न नै बेकाम रहेको बताइन्।
उनले माओवादीले गरेको १० वर्ष सशस्त्र सङ्घर्षको जगमा २०६२÷०६३ सालको जनआन्दोलन भएको र आफूहरू राजतन्त्र फाल्नकै लागि १० वर्ष जनयुद्ध लडेको बताउँदै उनले व्यवस्थालाई चुनौती दिने कुरा स्वीकार्य नरहेको बताइन्।
उनले भनिन्, ‘अहिले गणतन्त्र कि राजतन्त्र ? यो बहस गर्ने ठाउँमै अहिले छैनौँ। किनभने सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले निरङ्कुश राजतन्त्रको विरुद्धमा लडेर ल्याएका हौँ। लडेर ल्याएको व्यवस्थामा सबैको अपनत्व छ। २०६२/०६३ को आन्दोलन १० वर्षे जनयुद्धको जगमा भएको थियो। त्यो आन्दोलन बगेको हजारौँ जनताको रगतको प्रतिफल स्वरूप यो गणतन्त्र प्राप्त भएको हो।’