मोरङको लेटाङमा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ।

लेटाङ नगरपालिका–२ खैरेनीमा भोलाराम श्रेष्ठले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा बुधवार दिउँसो आगलागी हुँदा फार्मसहित फार्मभित्र राखिएको १५ बोरा कुखुराको चारो र ५० बोरा सिमेन्ट जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।

आगलागीमा सय वटा सुपारी र २ वटा लिचीका बोट पनि मरेका छन्।

आगलागी भएको फार्ममा कुखुरा नभएको र कुखुरा रहेको फार्म भने सुरक्षित रहेको छ। आगो करिब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुल्न सकेको छैन।

इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।