ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी ऐनको व्यवस्था गर्ने बताएका छन्।  
बिहीबार काठमाडौँमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा बोल्दै उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकलाई ऐनको रूप दिने काम गर्ने बताएका हुन्। 
उनले भने, ‘सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्ने कार्य सदैव प्राथमिकतामा राखेको छ। नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस भएको छ। यस विधेयकलाई प्रतिनिधि सभाबाट पास गराई ऐनको रूप दिने काम मेरो उच्च प्राथमिकता रहेको छ।’ 
उनले सरकार मार्फत फन्डको प्रयोग गरी गरिब, निमुखा जनताहरूको लागि सोलारको व्यवस्था गर्न सके आय आर्जनको बाटो बन्ने पनि बताए। 
यसका साथै उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी कार्यहरूको स्तरउन्नती गर्नुपर्ने पनि बताए।