प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले सुरु गरेको दाबी गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया आफैँले सुरु गरेको भएपनि आफू श्रेयको भोको नरहेको बताए।
उनले भने, ‘नेपालमा शान्ति प्रक्रिया आफैँले सुरु गरेका छौँ। आफैँले गरेर अगाडि बढाएका हौँ। कसले श्रेय लिने हो भन्ने कुरा छाडौँ। म यसलाई सफल मात्रै पार्न चाहन्छु। श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु। मलाई श्रेयको भोक छैन। श्रेय चाहिएन सफल पारौँ। पीडितका घाउमा मल्हम लगाऊँ ,उहाँहरूको आँसु पुसौं।’
त्यस्तै उनले ठुला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने पनि धारणा राखे।
‘वास्तवमा हामी मिल्यौँ भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन। पीडितलाई न्याय दिन नसकिने भन्ने छैन। सकिन्छ ,सक्नुपर्छ र हामी सक्छौँ पनि। प्रधानमन्त्रीको हैसियतले यो भन्न चाहन्छु।’
त्यस्तै प्रधानमन्त्री ओलीले आयोगहरू सलबलाउन नसक्नु दुर्भाग्यको कुरा रहेको पनि बताए।