नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरुदेखि नै प्रतिबद्ध रहिआएको बताएका छन्।
बिहीबार सङ्क्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पीडितलाई न्याय दिने कुरामा कुनै पनि दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका हुन्।
उनले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको छानबिन मार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिबद्ध रहिआएको छ। पीडितलाई न्याय दिने कुरामा कुनै पनि दुई मत छैन । वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ।’
साथै उनले सक्रमणकालीन न्यायका लागि वर्तमान सरकार, राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेको बताए। उनले सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्नेमा जोड दिए।
उनले भने, ‘सक्रमणकालीन न्यायका लागि सरकारले भर्खरै सत्य निरूपण तथा मेलमिलाप व्यवस्था पालिकाको छानबिन आयोगको पदाधिकारीको नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको छ। आयोगले शान्ति सम्झौताका मर्म अनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा सत्य अनुसन्धान सुरु गरेर न्याय दिलाउने नै छ। वर्तमान सरकार, राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौँ। सरोकारवाला पक्षहरूसँग पनि छलफल र अन्तरक्रियाबाट सत्य निरूपण हुने नै हो। यस विषयमा विश्वास दिलाउन चाहन्छु। सत्य निरूपण तथा मेलमिलापका विषयमा सर्वोच्च अदालतले पनि मार्गदर्शक फैसला गरिसकेको छ। सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्ने आवश्यक छ।’