नेपालको सांस्कृतिक परम्परामा एक महत्वपूर्ण स्थान राख्ने पञ्चे बाजा, जसले विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा ठूलो भूमिका खेल्दछ, अब बेलबारी नगरपालिकाका महिलाहरूका लागि एक नयाँ अवसरको स्रोत बन्ने भएको छ।बेलबारी नगरपालिकाको महिला बालबालिका तथा लक्षित वर्ग समन्वय उपशाखाको आयोजनमा महिलाहरूको आयआर्जनका लागि सीप विकास सम्बन्धि १ महिने पञ्चे बाजा बजाउने तालिम बेलबारी–११ लक्ष्मीमर्गमा उद्घाटन गरिएको छ। बेलबारी नगरपालिकाकी महिला बालबालिका निरीक्षक यसोदा सिटौलाले आगामी १ महिने तालिमको आयोजनासँग महिलाहरूलाई पञ्चे बाजा बजाउने सीप सिकाउने उद्देश्य राखिएको बताएकी छिन । निरीक्षक सिटौलाले यस तालिमले महिलाहरूलाई सांगीतिक प्रतिभा प्रदर्शन गर्ने, आत्मनिर्भर बन्ने र सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पुर्याउने अवसर दिने बताइन ।
तालिम पछि महिलाहरूलाई पञ्चे बाजा बजाएर विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसरहरू सिर्जना गरिनेछ भने यसका माध्यमबाट महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्षम हुने बिश्वास व्यक्त गरिन । पञ्चे बाजा बजाउने सिपका साथ, उनीहरूले विवाह, जात्रा, चाडपर्व र महोत्सवहरूमा भाग लिँदै आर्थिक आम्दानी गर्न सक्नेछन् भने यसले उनीहरूको पारिवारिक आयमा थप योगदान पुर्याउने र उनीहरूलाई सशक्त बनाउने बताइन ।
बेलबारी नगरपालिकाकी उप–प्रमुख नितुथापा कोइरालाले हिजो आज शहरीकरण र आधुनिकता बढ्दै गएको छ, जसले गर्दा परम्परागत सांस्कृतिक गतिविधिहरू घट्दै गएको बताइन । थापाले पञ्चे बाजालाई पुनः एक उर्जाशील र प्रासंगिक क्षेत्रको रूपमा विकास गर्न सकिन्छ, जसले नेपालको सांस्कृतिक धरोहरको संरक्षण गर्दै विभिन्न समुदायका मानिसहरूको लागि रोजगारका अवसरहरू पनि सिर्जना गर्न सकिने बाताइन ।
नगर उप–प्रमुख थापाले पञ्चे बाजा बजाउने सिप भएका व्यक्तिहरूले कक्षा सञ्चालन गरेर, सांस्कृतिक कार्यक्रम र महोत्सवहरूको माध्यमबाट आम्दानी गर्न सक्छन्। यस कार्यक्रमको विकास र प्रोत्साहन गर्दा हामी हाम्रो सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै भविष्यका पुस्ताहरूलाई यो संगीत र परम्पराको महत्त्वको बारेमा सन्देश दिन सक्छौं बताएकी छिन ।
बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले हालको समयलाई लिएर चिन्ता व्यक्त गर्दै भनेका छन् कि, एउटै पुस्ताले एउटै काम गर्दै जाँदा अहिलेको अवस्था फरक देखिएको छ। यस क्रममा युवाहरूको विदेश पलायन र अन्य व्यवसाय र रोजगारमा लाग्ने प्रवृत्तिले परम्परागत मौलिक सीप, संस्कृति र कला हराउँदै गएको भन्दै यसलाई जोगाउनका लागि कदम चाल्नु आवश्यक रहेको बताएका छन्।
उनले भने, “हाम्रो मौलिक परम्परा र संस्कृति मात्र होइन, हाम्रा धार्मिक संस्कृतिहरू पनि जोखिममा परिरहेका छन्। खासगरी युवाहरू विदेश जान थालेका छन्, जसको परिणामस्वरूप परम्परागत सीप र सांस्कृतिक गतिविधिहरूमा कमी आएको छ।“

प्रमुख प्रशासकीय अधिकृत ढकालले यसमा थप जोड दिँदै भने, “हामीले पुरानो पुस्ताबाट नयाँ पुस्तामा यो सांस्कृतिक धरोहर हस्तान्तरण गर्ने प्रयास गर्नुपर्छ, ताकि हाम्रो संस्कृति जगेर्ना र संरक्षण गर्न सकियोस्।“ यसका लागि विभिन्न किसिमका धार्मिक महोत्सव, मेला र चाडपर्वहरूको आयोजनाले परम्परागत संस्कृतिको प्रचलनलाई थप बल प्रदान गर्न सक्छ।
यस कार्यक्रमले समुदायमा एकतासँगै, सांस्कृतिक गतिविधिहरूको महत्त्वलाई पुनःजागृत गर्ने र स्थानीय संस्कृतिलाई समृद्ध बनाउने विश्वास व्यक्त गरिएको छ। “यदि हामी यस क्षेत्रमा ध्यान दिन सकेमा, हाम्रो सांस्कृतिक धरोहर सुरक्षित हुनेछ र आगामी पुस्ताले यसलाई अनुभव गर्न सक्नेछन्,“ ढकालले थपे।
बेलबारी नगरपालिका वडा न. ११ की वडा सदस्य एबम कार्यवाहक वडाध्यक्ष पार्वती गौतमले पञ्चे बाजा सम्बन्धी १ महिने तालिमको महत्व र यसको उपयोगितामा जोड दिँदै भनेकी छन् कि यो तालिमले सहभागीलाई धेरै नयाँ कुरा सिक्नको अवसर दिनेछ। साथै, उनले आगामी महिना अन्य स्थानमा गएर पनि पञ्चे बाजा बजाएर आयआर्जन गर्न सकिने सम्भावनाको बारेमा चर्चा गर्दै सहभागीहरूलाई आत्मविश्वास र हिम्मतको साथ अघि बढ्न प्रेरित गरेकी छिन्।
वडा सदस्य गौतमले भने, “यो तालिममा महिलाहरूलाई पञ्चे बाजा बजाउने सिप मात्र होइन, यसले तिनीहरूको आत्मविश्वास र साहसलाई पनि बढाउँछ। अब आगामी महिनाबाट यो सीप अन्य स्थानमा पनि प्रयोग गर्न सकिन्छ।“
उनले सबै सहभागीहरूलाई हौसला दिँदै थपे, “पञ्चे बाजा बजाउने सिपलाई आत्मविश्वास र मेहनतका साथ अगाडि बढाउनुहोस्, र यसलाई आयआर्जनको स्रोत बनाउने अवसरको रूपमा प्रयोग गर्नुहोस्।“
यस कार्यक्रमको उद्देश्य न केवल पञ्चे बाजा बजाउने सिपलाई पुनःजागृत गर्नु हो, तर नेपाली समाजमा सांस्कृतिक धरोहरको संरक्षण र सामाजिक एकताको प्रवद्र्धन गर्न पनि मद्दत गर्नु हो।
पन्चेबाजा उद्घाटन कार्यक्रमको अध्यक्षता कार्यबाहक वडा अध्यक्ष पार्वती गौतमले गरेकी थिइन् भने प्रमुख अतिथि उप–प्रमुख नितुथापा कोइरालाले कार्यक्रमको उद्घाटन गरेकी थिइन ।तालिममा मुख्य प्रशिक्षक बीरबहादुर बर्देबा,बिजय रणपहेँली,भत्तबहादुर परियार,बिकास मोते,तारा कटुवाल लगायतले प्रशिक्षण दिनेछन ।