अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरूलाई काठमाडौँ महानगरपालिकाले आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको छ। 
आज आधारभूत तह उत्तीर्ण परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीको संयोजकत्वमा बसेको बैठकले यस्ता विद्यार्थी अध्ययनरत विद्यालयमा नै परीक्षा केन्द्र रहने गरी परीक्षाको प्रबन्ध मिलाउनेसहितका सहुलियत सम्बन्धी निर्णय गरेको हो। 
विभागका अनुसार अहिलेसम्म ६ वटा विद्यालयका ६ जना विद्यार्थीहरूलाई यस प्रकारको सहुलियत दिनुपर्ने देखिएको छ। समितिले फागुन २२ गते विवरण पठाउन गरेको पत्राचारबाट यो सङ्ख्या प्राप्त भएको हो। 
शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहीन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि निजले बुझ्ने साङ्केतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइनेछ। यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछन्। उत्तर पुस्तिकालगायतका परीक्षासँग सम्बन्धित सामग्रीहरू शिक्षा विभाग वा तोकिएको परीक्षण केन्द्रमा बुझाउनु पर्नेछ।  
विकासात्मक अपाङ्गता भएका बालबालिकालाई क्षमता सम्बन्धी सहायता आवश्यकता परेमा वा प्रश्नपत्र तथा परीक्षामा लेख्न समस्या भएमा त्यस्ता बालबालिकाका लागि विद्यालयले व्यक्तिगत सहयोगको व्यवस्था मिलाउन सक्नेछन्। 
महानगरपालिकाले तयार पारेको प्रश्न पत्रबाट विकासात्मक अपाङ्गता वा विशेष प्रकृतिका बालबालिकाहरूले परीक्षा दिन नसक्ने भएमा विद्यार्थीको सिकाइ प्रकृतिका आधारमा विद्यालयले उपयुक्त मूल्याङ्कन मापदण्ड तयारी गरी विद्यार्थी मूल्याङ्कन गरेर प्राप्ताङ्क सम्बन्धित स्रोत केन्द्रमा बुझाउनु पर्नेछ। यसरी परीक्षा लिँदा पाठ्यक्रम विकास केन्द्रले तोकेको विशिष्टीकरण तालिकाको परिधिभित्र हुनु पर्नेछ। 
आगामी शैक्षिक सत्रका लागि सुरुवातकै दिनमा शिक्षा विभागले विकासात्मक अपाङ्गता भएका बालबालिकाको विवरण सङ्कलन र विश्लेषण गर्नेछ। विभागले, त्यस्ता बालबालिकाका लागि सिकाइ र मूल्याङ्कनका राष्ट्रिय परीक्षा वोर्ड, पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर   छुट्टै मापदण्ड तयार गर्ने निर्णय भएको छ। 
हात भाँचिएका वा आफैँ हातले परीक्षा लेख्न नसक्ने विद्यार्थीलाई विद्यालयबाट प्राप्त भएको निवेदन, मेडिकल रिपोर्ट, सहायक विद्यार्थीको योग्यतासमेतका आधारमा कक्षा ७ सम्म अध्ययनरत सोही विद्यालयको विद्यार्थीलाई परीक्षा सहायक राख्न विभागले अनुमति प्रदान गर्न सक्नेछ। 
विदेशी विद्यार्थीलाई विद्यार्थी वा अभिभावकले अनुरोध गरेमा सट्टा विषयमा परीक्षा दिन पाउने भएका छन्। उनीहरूले अनिवार्य नेपाली विषयको सट्टा इलेक्टिभ इङ्लिस र नेपाल भाषाको सट्टामा अप्सनल इङ्लिस भाषाको परीक्षा दिनुपर्नेछ। यसका लागि सम्बन्धित विद्यालयले प्रश्नपत्र तयार गर्ने र आफैँ परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने गरी निर्णय भएको छ। उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकले नै परीक्षण गरेर परीक्षण केन्द्रमा बुझाउनु पर्नेछ। 
सामाजिक विषयको हकमा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन नसक्ने विदेशी विद्यार्थीका लागि शिक्षा विभागले प्रश्नपत्र अङ्ग्रेजी भाषामा अनुवाद गरेर उपलब्ध गराउनेछ। यस प्रश्न पत्रमा विद्यार्थीहरूले उत्तर दिन पाउनेछन्। 
परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापकलाई विभागले केन्द्राध्यक्षका रूपमा नियुक्ति गर्नेछ। प्रधानाध्यापकको कार्यभारका कारण केन्द्राध्यक्ष रहन नसक्ने अवस्थामा सहायक प्रधानाध्यापक वा प्रधानाध्यापकले तोकेको वरिष्ठतम शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गर्न सकिने बैठकले निर्णय गरेको छ। 
ज्ञवालीको अध्यक्षतामा गठित समितिमा रामप्रसाद ढुंगाना, मञ्जु मग्राती, विष्णुहरि अधिकारी, रविन बस्नेत, श्याम योञ्जन सदस्य रहेका छन्। यस्तै, शिक्षा अधिकृत ओमप्रसाद गौतम सदस्य सचिव रहेका छन्। कोडिङ् र डिकोडिङ् गरेर उत्तरपुस्तिका परीक्षणको काम विभागले गर्नेछ। यो काम स्रोत केन्द्रहरूबाट हुनेछ। महानगरपालिकाभित्र ११ वटा स्रोत केन्द्र छन्।