नेपाल डेरी एसोसिएसनले काठमाडौँबाट पनि मोहीको लेबलिङ र प्याकेजिङको सुरुवात गरेको छ।
एसोसिएसनले सुरु गरेको मोही अभियान सार्थक रूपमा सफल भई देशभर प्याकेजिङ भइरहेको अवस्थामा आज (शनिवार) पहिलो दिन दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारबाट लेबलिङ र प्याकेजिङ सुरु गरेको हो।
सोही क्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले देशभित्रै उत्पादित वस्तु र मौलिक उत्पादनलाई नै प्रोत्साहन गर्नुपर्छ भनेर अभियान सुरु गरेको जानकारी दिए। उनले मोही उत्पादन र व्यापार राम्रो भइरहेको बताए।
उनले भने, ‘मोही अभियान दुई वर्षका लागि सम्झौता गरेर ‘निःशुल्क मोही खुवाउने ठेकीमा पारेर’ भन्ने अभियान सुरु गरेका थियौँ। डेढ वर्षको समयमा देशभर लगभग १३ वटा डेरीहरूले यसरी लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ् गरेर बजारमा मोही पुर्याइरहेका छन्। यसले मोही बनाउने घरमा पाहुनाहरूलाई मोहीले स्वागत गर्ने मौलिक परम्परा बचाउने काम गर्छ। पछिल्लो समय अन्य वस्तुहरूले यसको ठाउँ लिएको थियो। त्यस कारण पनि निःशुल्क मोही दिएर यसको प्रचारप्रसार गरेको छ।’