सिरहा गोलबजारका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोविन्दप्रसाद साहले अनियमितता गर्ने गरेको र घुस माग्ने गरेको गुनासो सार्वजनिक भएको छ।
उनले व्यवसायी एवम् सर्वसाधारणसँग विभिन्न बहानामा रकम असुली गर्ने गरेको स्थानीयवासीको गुनासो छ।
साहले हालै लहानका एक युवकसँग ३५ हजार नगद र उनको आई फोन १४ लिएको आरोप लागेको छ। गत माघ २९ गते लहान नगरपालिकाका पङ्कज साह भन्ने युवाबाट ५० हजार रुपैयाँ घुस माग गरेको समेत खबर सार्वजनिक भएको छ। 
प्रहरी निरीक्षक साहले पङ्कजलाई फोन गरेर इलाका प्रहरी कार्यालय गोलबजारमा बोलाएर विना कारण थुनेको आरोप समेत लागेको छ।
एक युवतीको तस्बिर बिना अनुमति टिकटकमा अपलोड गरेको कारण ती युवतीले पंकजविरुद्ध ठाडो निवेदन दिएको तर तस्बिर अश्लील वा आपत्तिजनक नभएपनि उनलाई पक्राउ गरिएको स्थानीयवासीको भनाइ छ।
तर पङ्कजलाई साइवर अपराधमा हालिदिन्छु भनेर प्रहरी निरीक्षकले रिहाइका लागि ५० हजार घुस मागेको, पङ्कजका पिताले प्रहरी निरीक्षकलाई ३५ हजार घुस दिएर छोरालाई रिहा गराई लगेको खुलेको छ। 
पङ्कजको आई फोन १४ प्रोम्याक्स प्रहरी निरीक्षकले खोसेर आफूसँग राखेको, कतै कुरा चुहाएमा पुनः थुनेर मुद्दा लगाइ दिने डर धम्की दिएको पंकजले बताए। 
यस विषयमा प्रहरी निरीक्षक साहसँग सोध्दा उनले भने पक्ष विपक्ष दुबै थरीलाई राखेर मिलापत्र गराएर पठाएको जानकारी दिए।
‘तस्बिर मेटाएर मोबाइल फिर्ता दिइएको छ। कुनै घुस रकम लिएको छैन,’उनले भने। तर इलाका प्रहरी कार्यालय गोलबजारका एक प्रहरी जवानले नाम उल्लेख नगर्ने सर्तमा इन्स्पेक्टर साहले मोबाइल फिर्ता नदिएको र ३५ हजार घुस लिएको बताएका छन्। त्यसैगरी, पीडित पक्षले पनि ३५ हजार घुस दिएको स्वीकार गरेका छन्।
त्यसबाहेक प्रहरी निरीक्षक साहले गोलबजार नगरपालिकामा विभिन्न बहानामा रकम असुली गर्ने गरेको गुनासो समेत स्थानीयले गर्ने गरेका छन्।
रामएकवाल गिरिकी आमा र पत्नीले हाट बजारमा कपडा बेच्छिन्। उनको चार पोका कपडा समातेर प्रहरी पुर्‍याइयो र २० हजार रकम लिएर छाडेको, त्यसैगरी गत साता एक जना माछा व्यापारीको माछा भारतबाट ल्याएको भनी समातेको र २० हजार घुस लिएर छाडेको पीडित माछा व्यापारीले बताए।
उनको माछाको हण्डी नै इलाका प्रहरी कार्यालय गोलबजारको प्राङ्गणमा घोप्ट्याएर बर्बाद पार्न खोजेपछि माछा व्यापारीले २० हजार दिन बाध्य भएको बताए।
प्रहरी निरीक्षक साहले भन्सार चोरी पैठारी गर्ने मध्येका माडरका मोहन नाम गरेका व्यक्तिसँग मासिक २० हजार, लहानका भगवान् लालसँग मासिक १५ हजार, औरहीका विजय महासेठसँग मासिक २० हजार, राकेश यादवसँग मासिक २० हजार, राम वृक्षसँग मासिक २० हजार, श्रीलालसँग मासिक २० हजार, लाल जीसँग मासिक १५ हजार, दीपेन्द्र डवल मजा ब्लेकियासँग मासिक १५ हजार, मनिक लालसँग मासिक १५ हजार, ध्यानीसँग मासिक १५ हजार र उपेन्द्रसँग मासिक १५ हजार रकम असुल्ने गरेको स्थानीय एक व्यापारीले बताए। 
प्रहरी निरीक्षक साहले गोलबजारस्थित होटल आनन् (होटलको नाम परिवर्तन) र अर्को एक होटलबाट मासिक ५०/५० हजार रकम लिएर देहव्यापार गर्ने गराउने छुट दिएको समेत आरोप लाग्ने गरेको छ।
 उनले होटलबाट रकम लिँदा जिल्लालाई पनि दिनुपर्ने भन्दै असुल गरेको एक प्रहरी जवानले बताएका छन्। इन्स्पेक्टर साहले गोलबजारका एक कपडा पसलबाट रकम मागेको र नदिँदा उनको पसलको छेउमै प्रहरीका एक जवानलाई दुई हप्तासम्म ड्युटी खटाएर मानसिक तनाव दिएको पीडित व्यापारीले बताए।