प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले सुविधायुक्त भवनले  प्रहरी कर्मचारीको मनोबल उच्च हुनुका साथै गुणस्तरीय सेवा प्रदानले सेवाग्राहीलाई सहज हुने बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय रौतहटको नव–निर्मित भवनको सोमवार  प्रहरी महानिरीक्षक  कुँवरले उद्घाटन गर्दै सो कुरा बताएका हुन्। विभिन्न महानुभावहरूले भवन निर्माण कार्यमा सहयोग पुर्‍याएको भन्दै उनले प्रशंसा समेत गरे। 

प्रहरी महानिरीक्षक कुँवरका अनुसार देशभर २६६० प्रहरी इकाई कार्यालय रहेकोमा १८६९ को कार्यालय भवन, ३७० घर भाडामा र ४२१ अन्य निकायको कार्यालयबाट प्रहरीले सेवा दिँदै आएको  उल्लेख गरेका छन्। मधेस प्रदेशमा ३९५ प्रहरी इकाई कार्यालय मध्ये २९५ युनिटको आफ्नो भवन र एक सय प्रहरी युनिटको भवन नभएको जानकारी दिए। 

रौतहटमा ४६ स्वीकृत प्रहरी युनिटमा ४२ कार्यालय रहेकोमा ३० को जग्गा समेत नभएको उनको भनाइ छ। प्रहरी सङ्गठनलाई आवास र भौतिक पुवधारमा आत्मनिर्भर बनाइ प्रहरीको क्षमता अभिवृद्धिमा प्रहरी प्रधान कार्यालयले ध्यान दिएको प्रहरी महानिरीक्षक कुँवरले बताए। नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बद्र्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए। 

उनले समाजमा शान्ति र सुरक्षाको सु–व्यवस्था कायम गर्न र आपराधिक गैर कानुनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरूलाई निरुत्साहित गर्न कटिबद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए। उनले जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक, हिरासत/सैलुन, चमेना गृह तथा स्वागत कक्षको समुद्घाटन गर्नुका साथै कार्यालयको परिसरमा वृक्षारोपण समेत गरेका छन्।