श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने बताएका छन्।
राष्ट्रिय श्रम तथा रोजगार मेला–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएको बताएका हुन्।
उनले भने, ‘हामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने छ। विगत १६ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुमध्ये १४ हजारले आफ्नो ज्यान गुमाएका छन्। विगत १६ वर्षमा १४ हजार नेपालीले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका छन्। उनीहरू लड्न गएका हुन् त ? वैदेशिक रोजगारीमा गएकाहरू ऋणको चपेटामा परेर जति कमाएका छन् त्यो भन्दा बढी साहुको ऋण तिर्नुपर्ने अवस्था रहेको छ। यसलाई व्यवस्थित गर्न जरुरी छ। अहिले डिजिटल ट्रयापको हिसाबमा कयौँ मान्छे ठगिएका छन्। यसलाई हामीले कसरी व्यवस्थापन गर्ने सोच्ने समय आएको छ।’
साथै उनले वैदेशिक रोजगारीको समस्या समाधान गर्न विज्ञहरूसँग छलफल गर्नुपर्ने बताए। उनले आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरिराखेको बताए।
उनले भने, ‘वैदेशिक रोजगारीको समस्या समाधान गर्न परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालय बसेर यो सबै परस्थितीबारे कसरी अगाडि बढ्ने भनेर छलफल गरेका छौँ। साथै यसमा विज्ञहरूसँग पनि छलफल गर्नुपर्ने छ। एकातिर वैदेशिक रोजगारीको अवस्था छ, भने त्यसका साथसाथै आन्तरिक रोजगारमा कहाँ कहाँ के के सम्भावना छन् भन्ने बारेमा पनि गहिरो छलफल गरेका छौँ, त्यसको आधारमा सबै प्रणालीहरूलाई एक ठाउँमा राखेर उद्यमशीलतामा जोड दिनुपर्छ।’