मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाचौँ संस्करणमा चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने भएको छ।
आयोजकका अनुसार यसपालि पाँच सयभन्दा बढी धावक धाविका दौडने छन्। मञ्जुश्री ट्रेस रेसमा ३७१ नेपाली र १३१ विदेशी गरी कूल ५०२ जनाको सहभागिता रहनेछ। जसमध्ये पुरुष धावक ४०८ र महिला धाविका ९४ जना रहेका छन्।
पाँचौँ मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्स, एक सय किमी, ५० किमी, ३० किमी र दस किमी इभेन्टमा दौड हुनेछन्। १०० माइल्स स्वयम्भूस्थित सिङल ट्रिबाट सुरु भई सोही स्थानमा आएर सकिनेछ। १०० किमी रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमी रेस गोदावरीबाट तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ। सबै रेस सिङगलल ट्री स्थित पवना हाउसमा पुगेर समाप्त हुनेछ।
मञ्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर पनि हो। मञ्जुश्रीमा विजेता हुने खेलाडीहरू भियतनामा हुने एसिया ट्रेल मास्टर्समा चयन हुनेछन्। एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधि दाबेदारको रूपमा रहने गर्दछ। सन् २०२३ मा रसिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए।
मञ्जुश्री ट्रेल रेसअन्तर्गत १०० माइल्समा पहिलो देखि तेस्रो हुनेले क्रमशः ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछ। १०० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार तथा ५० किमीमा पहिलो देखि तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउने छ। ३० किमीमा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार हुनेछ। १० किमीमा भने नगद पुरस्कार राखिएको छैन।
मञ्जुश्री ट्रेल रेसका कार्यवाहक अध्यक्ष नारायण आचार्यले किंवदन्तीअनुसार मञ्जुश्री चीनबाट नेपालसम्म हिँडेर आएको, त्यो बेला काठमाडौँ उपत्यका पानीले भरिएको र मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौँ बस्न लायक बनाएको कथा छ। त्यसैले प्रभावित यस रेसको नाम मञ्जुश्री ट्रेल रेस राखिएको बताए।

यसैगरी, रेस डिरेक्टर आसिस मिश्रले पहिलो संस्करणमा सात जना धावक मात्र रहेको संस्करण गर्दे अहिले पाँच सयभन्दा बढीले सहभागिता जनाउन लागेकोमा आफूलाई धेरै खुसी लागेको बताए।
यसैगरी, धाविका रसिला तामाङले ट्रेल रेस नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पदकको सम्भावना भएको खेल हो, भनिन्। उनले यस पटक व्यवस्थापनमा पनि सहयोग गर्नुपरेकोले खेल्ने, नखेल्ने निर्णय गरि नसकेको जानकारी पनि दिइन्।