इटहरी । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ।
‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो। विद्यालय स्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
सुनसरीबाट सुरु भएको दुर्व्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदैछ। अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला वर्तमान कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआइजी) राजन अधिकारीले गरेका थिए।
अधिकारीको नेतृत्वमा यस अभियानलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समेटेर अघि बढाइएको थियो। जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ।
डिआइजी अधिकारीले अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठुलो भूमिका खेलिरहेको बताए। अधिकारीले यस अभियानको माध्यमबाट दुर्व्यसनको समस्या समाधानमा पहल गरेको बताए।
सुनसरी जिल्लामा अभियानको प्रारम्भिक सफलतापछि यसलाई प्रदेशभरि सञ्चालन गरिएको छ। यही फागुन २८ गते इटहरीबाट फ्यान प्रदेश अभियान विभिन्न क्षेत्रको सहभागितामा औपचारिक प्रारम्भ गरिँदै छ। अभियानले दुर्व्यसनबाट बचाउन र युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।
दुर्व्यसनको कहालीलाग्दो अवस्था युद्धजस्तै खतरनाक भएकाले रोकथाम तथा नियन्त्रणका लागि सबै एकजुट भएर युद्ध स्तरकै तयारी, सहकार्य, अग्रसरता र निरन्तरता चाहिने डिआईजी अधिकारीले बताए। दुर्व्यसन रोकथाम तथा नियन्त्रण सबैको सरोकारको विषय भएकाले प्रत्येक व्यक्तिले, सरकारी तथा निजी सङ्घसंस्थाले आ–आफ्नो व्यक्तिगत वा संस्थागत काम भन्दा उच्च महत्त्व दिएर अग्रसर हुनु जरुरी भएको उनको भनाइ छ।
२०७५ साल माघ १४ गते सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि’ समुदाय प्रहरी साझेदारीअन्तर्गत ‘दुव्र्यसनविरुद्द ‘फ्यान’ अभियानको अवधारणा लागु गरेको थियो।
अभियानको प्रारम्भिक चरणमा सुनसरी जिल्लाका १६ वटा माध्यमिक विद्यालयहरूलाई समावेश गरिएकोमा हालसम्म ७२ वटा विद्यालयमा विस्तार भइसकेको छ।
अभियानको मूल उद्देश्य विद्यालयमा ‘फ्यान क्लब’ गठन गरेर विद्यार्थीहरूलाई लागुऔषधविरुद्ध सचेतना फैलाउने र जोखिम पर्न सक्ने युवालाई नै दुर्व्यसन विरुद्धको सशक्त योद्धा बनाउने भएकाले क्लबमार्फत विद्यार्थीलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउँदै नकारात्मक क्रियाकलापका रूपमा रहेको दुर्व्यसनको जोखिम न्यूनीकरण गर्न पहल गर्ने गरिएको डिआइजी अधिकारी बताउँछन्।
अभियानबाट हालसम्म ७० हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन्। सुनसरी जिल्लाका ७२ वटा विद्यालयमा ‘फ्यान क्लब’ गठन गर्दा ९ सय ३६ जना विद्यार्थीहरू प्रत्यक्ष रूपमा अभियानमा आबद्ध भइसकेका छन्।
फ्यान क्लबका विद्यार्थीहरूलाई सहजीकरण गर्न तत् तत् विद्यालयका १ सय ४४ जना सम्पर्क शिक्षकहरू खटाइएको छ। शिक्षकहरूले नेतृत्व विकास, सचेतनामूलक कार्यक्रम तथा विद्यालय स्तरमा सामाजिक परिवर्तनका गतिविधिहरू सञ्चालन गर्न मद्दत गर्नेछन्।
‘फ्यान’ अभियान विद्यालय स्तरमा मात्र सीमित नभई समुदायमा समेत प्रभावकारी रूपमा विस्तार भएको छ। अभियानअन्तर्गत सार्वजनिक स्थलहरूमा धूम्रपान, मद्यपान तथा लागुऔषध सेवनलाई निरुत्साहित गर्न स्वयंसेवक परिचालन गरिएको छ।
धार्मिक तीर्थस्थल वराहक्षेत्र कुम्भ मेलामा ३ सय ९० जना स्वयंसेवक परिचालन गरी ६ हजार भन्दा बढी सचेतनामूलक पर्चा वितरण गरिएको थियो। बराहक्षेत्र नगरपालिकामा ‘दुर्व्यसन निषेधित घर’ घोषणा गर्दै प्रत्येक घरमा सचेतनामूलक स्टिकर टाँस गरिएको छ।
आदर्श मावि चताराले ‘दुर्व्यसन निषेधित विद्यालय’ घोषणा गर्दै लागुऔषधविरुद्धको अभियानलाई थप सशक्त बनाएको छ। अभियानलाई अझ प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरीले स्थानीय तह, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूसँग सहकार्य गर्दै आएको छ।
बराहक्षेत्र नगरपालिकाको शिक्षा शाखाले अन्य सङ्घ–संस्था तथा क्लबहरूसँग मिलेर ‘फ्यान क्लब’ गतिविधिहरूलाई समेत समावेश गर्ने योजना अघि सारेको छ। प्रदेश सरकारले यसलाई दीर्घकालीन रूपमा अघि बढाउने योजना बनाएको छ। मुख्यमन्त्रीको नेतृत्वमा गौरवको योजनाका रूपमा यसलाई अगाडि बढाउने तयारी छ।
प्रदेश सरकार तथा स्थानीय निकायहरूको सहकार्यमा फ्यान अभियानलाई संस्थागत गर्न विभिन्न योजना बनाइएको छ। आगामी दिनमा विद्यालय स्तरमा ‘फ्यान’ पुस्तकालय स्थापना गरी लागुऔषध नियन्त्रणसम्बन्धी जानकारी प्रदान गर्ने, ‘फ्यान आलमुनी’ गठन गरी अभियानमा संलग्न विद्यार्थीहरूलाई सङ्गठित गर्ने, ‘फ्यान मोनिटरिङ डेस्क’ स्थापना गरी अभियानको प्रभावकारिता सुनिश्चित गर्ने, ‘फ्यान आईडल’ घोषणा गरी दुर्व्यसनविरुद्ध उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने, दुर्व्यसन मुक्त विद्यालयहरूको ‘ग्रेडिङ’ प्रणालीअन्तर्गत उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र अभिभावकहरूलाई लक्षित गर्दै ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियान सञ्चालन गर्ने योजना अघि सारिएको छ।