पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित आफ्नै पसलमा आगो लगाउने एक जना व्यक्ति पक्राउ परेका छन्। 
न्यूरोड स्थित शर्मा आईटी हबमा यही फागुन १६ गते आगलागी भएको थियो। आगलागी हुँदा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई तत्काल दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। 
त्यस घटना पश्चात् पसल धनी रमेश शर्मा लोहारले ९४ लाख क्षति भएको भनी गत १७ गते वडा प्रहरी कार्यालय वैदाममा निवेदन दिएका थिए। 
घटनाको बारेमा अध्ययन गर्दा शिखर ईन्स्योरेन्स कम्पनीमा एक करोड बराबरको बिमा गरेको पाइएपछि घटना शङ्कास्पद लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।
उनका अनुसार कामदार बिदामा रहेको अवस्थामा गत माघ महिनामा ईन्सुरेन्स गराएको रकम दाबी गरी रकम लिने दूषित मनसायको साथ आफ्नै पसलमा शर्माले आगलागी गरेका पाइएको बताए। 
उनलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा सम्मानित कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए।