भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो।
न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाकि ७६ रन बनाए। ८३ बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, श्रेयस अय्यरले ४८, केएल राउलले ३४ रन बनाए। शुभमन गिलले ३१ रन बनाउँदा विराट कोहली एक रनमा आउट भए।
न्यूजीलाण्डले आजको खेलमा सात जना बलर प्रयोग गरेको थियो। जसमध्ये मिचेल सेन्टनर र माइकल ब्रेसवेलले समान दुई विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो।
यसअघि सन् २०१३ पनि भारतले यो प्रतियोगिताको उपाधि जितेको थियो। त्यस्तै, सन् २००२ मा वर्षाका कारण खेल रद्द हुँदा श्रीलङ्का र भारतले संयुक्त रूपमा उपाधि जितेको थिए।
यस अघि सन् २००० च्याम्पियन्स ट्रफी जितेका न्यूजील्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ।