भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितका निजी आवास पुनर्निर्माण र मर्मतकार्यलाई तीव्रता दिन जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुन: स्थापना आयोजना कार्यान्वयन इकाइको स्थापना भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यालय स्थापना गरेर पुनर्निर्माणको काम अघि बढाउन लागेको हो।
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्नामा स्थापना भएको कार्यालयको गृहमन्त्री रमेश लेखकले आइतबार उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लेखकले पश्चिम नेपालमा भूकम्पले पारेको क्षतिको पुनर्निर्माण अभियान सुरु भएको बताए।
पुनर्निर्माणको लागि आवश्यक मापदण्ड र नियमावलीसँगै आवश्यक बजेट व्यवस्था गरेपछि निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिन जिल्लामै कार्यालय स्थापना गरिएकोले बताए।
भूकम्पबाट पूर्ण क्षति भएका घरको पुनर्निर्माण तथा चर्किएका घरको मर्मत गरेर प्रबलीकरण गरिने भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइले जनाएको छ।
उद्घाटन कार्यक्रममा जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो।