मोरङको पथरीशनिश्चरेमा एक जोडी युवक–युवती एउटै डोरी लगाएर रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।
पथरीशनिश्चरे नगरपालिका–५ को मौलीबारीस्थित बक्राहा खोलाको किनारको रुखमा उनीहरू मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय पथरीले घटनाको विषयमा अनुसन्धान थालिएको जनाएको छ।
प्रहरीका अनुसार पथरीशनिश्चरे–५ का २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की २२ वर्षीया जुबामुनी हस्दा एउटै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मंगलबार मृत भेटिएका हुन्।
उनीहरू दुवै विवाहित भएको बताइएको छ। मोरङको कटहरी माइती भएकी मृतक महिलाका श्रीमान् कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन्।
मृतक अजयको घरमा पनि पत्नी र ४ तथा २ वर्षका दुई छोरा घरमै छन्। अजयले जुबामुनीलाई गत आइतबार राति आफ्नै घरमा लिएर आएको प्रहरी अनुसन्धानका क्रममा खुल्न आएको ।
अजयको घरमा खाना खाएर राति नै उनी निस्किएकी थिइन्। उनीहरूको सम्पर्क र आउने जाने गरेको विवरण हेर्दा सम्बन्धमा रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

‘घटनास्थलको प्रकृति र प्रारम्भिक अनुसन्धानबाट सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ’, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले भने, ‘घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउँदैछौँ। अनुसन्धानपछि अरु कुरा खुल्छ।’