‘केपी ओली कप’ फुटबल प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुने भएको छ।
राष्ट्रिय युवा सङ्घ, नेपालले पत्रकार  सम्मेलन गर्दै कुल नौ टिमले सहभागिता जनाएको यस प्रतियोगिताको फाइनल खेल मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबकाबीच फागुन १९ गते साँझ ५ः३० बजे दशरथ रङ्गशालामा हुने जनाएको हो।
फाइनल खेलमा विश्व चर्चित फुटबल खेलाडी इटालीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रूपमा उपस्थिति रहने समेत राष्ट्रिय युवा सङ्घ, नेपालले जनाएको छ।
खेलकुद र मनोरञ्जनको संयोजन रहेको यस प्रतियोगिताको समापन समारोहमा चर्चित राष्ट्रिय कलाकारहरू कुमा सागर, पूर्ण राईलगायतको बेजोड प्रस्तुति समेत रहनेछ।
प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरू प्रदान गरिने छ। त्यस्तै हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ।
दशरथ रङ्गशालामा दर्शकहरूको उपस्थिति हजारौँ र ऐतिहासिक हुने अनुमान गरिएको छ। त्यस कारण फाइनल खेल हुने दिन फागुन १९ गते दिउँसो ४ बजेदेखि बेलुकी ८ बजेसम्म थापाथलीदेखि त्रिपुरेश्वर सडकमा खण्डमा सवारी साधन आवाज जावतमा कठिनाइ हुने देखिएकाले वैकल्पिक मार्गको व्यवस्था गर्न राष्ट्रिय युवा सङ्घ, नेपालले ट्राफिक प्रहरीलाई विशेष अनुरोध गरेको जनाएको छ।
सो दिन त्रिपुरेश्वरस्थित वल्डट्रेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण ‘कान्तिपुर टेलिभिजन’ले गर्नेछ भने टिकेटिङ पार्टनर ‘खल्ती’ रहेको छ। यसको साथै अन्य विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछन्।
प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण कार्यहरूको आवश्यक तयारी पुरा गरिसकेको राष्ट्रिय युवा सङ्घ, नेपालले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
‘केपी ओली कप’ फुटबल प्रतियोगिताको प्रचारप्रसारको लागि जिल्ला जिल्लाहरूमा पनि प्रचारात्मक कार्यक्रमहरू गरिएको थियो।