१६ गते शुक्रवार रातीबाट अविरल वर्षासँगै परेको हिमपातले नाग्म–गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्।
जुम्लाको भुलभुलेदेखि मुगुको सत मोडसम्म सडक अवरुद्ध हुँदा यात्रु बिच बाटोमा अलपत्र परेका हुन्। बाक्लो हिउँ जमेकोले भुलभुले नजिक सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ। हिउँले सडक बन्द भएपछि रारा ताल घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरू अलपत्र परेका हुन्।
मालसामान, खाद्यान्न, निर्माण सामग्री र यात्रु बोकेका १५ वटा गाडी दुई दिनदेखि बीचमै रोकिएको यात्रु शिवचन्द्र कार्कीले बताए।
हिमपातले बन्द सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग सहकार्य गरी जेसिभीले हिउँ पन्छाउने काम भइरहेको छ।
सडकभरि हिउँ परेको छ भने रुख ढलेर थप समस्या आएको छ। सकभर आज बेलुकीसम्म हिउँपातले बन्द सडक खुलाउने तयारी भएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए।