नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको मुक्तिका लागि ठुलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताएका छन्। 
धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उनले अब सो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए।
उनले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौँ सहिदले बलिदा  गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताए। 
मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत सङ्घीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रूपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले स्पष्ट पारे।
अध्यक्ष प्रचण्डले अब आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव नभएकाले मधेस मुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे। पार्टीका सबै पदाधिकारी अहिले मधेसमा रहेको र मधेसी पोशाकमै प्रस्तुत भएको प्रसङ्ग कोट्याउँदै उनले यो पोशाक मात्रै नभई आफूहरूको मन पनि मधेसमा छ भन्ने बिम्ब भएको स्पष्ट गरे।