मिथिला माध्यमिकी परिक्रमा आइतबार महोत्तरीको मटिहानी पुगेको छ। धनुषाको मिथिला विहारी–८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट मिथिला विहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्नि कुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ।
पहिलो दिन धनुषाको हनुमान गढीमा रात्रि विश्राम गरेको परिक्रमाको टोली दोस्रो दिन रात्रिबासका लागि भारतको मधुवनी जिल्लामा पर्ने कलना पुगेको थियो। त्यसपछि शनिवार गिरिजा स्थान पुगेर आज आइतबार महोत्तरीको मटिहानी प्रवेश गरेको छ।
श्रद्धालुहरूको सुविधालाई मध्यनजर गर्दै मटिहानी नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ।
महोत्तरीमा पर्ने रात्रि विश्रामस्थलहरु मटिहानी, जलेश्वर, महोत्तरी, बलवा र भङ्गाहा रहेको छ। नेपालतर्फ महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको कुल एक सय ३३ किलोमिटर वृत्तभित्र माध्यमिकी यात्रा गरिन्छ। जसमध्ये नेपालतर्फ एक सय सात किलोमिटर र भारततर्फ २८ किमी दूरी रहेको छ।