रौतहटको चन्द्रपुरमा रहेको केही औषधी पसल अवैध रुपमा सञ्चालनमा रहेको पाइएको छ। औषधी व्यवस्था विभागको शाखा कार्यालय वीरगञ्जबाट आएको अनुगमन टोलीले अनुगमनका क्रममा फेला परेको हो। 
अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधी पसल, डल्फिन फार्मेसी, आयु मेडिकल हल अवैध रुपमा सञ्चालनमा रहेको पाइएपछि तालाबन्दी गरेको हो।
यस्तै, हाइवे ट्रमा सेन्टरमा रहेको औषधी पसलमा पनि ताला लगाएको छ। फार्मेसीको दर्ता नभएको र आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाएर अनुसन्धानको लागि सञ्चालक लाई विभागमा हाजिर हुन भनिएको शाखा कार्यालय वीरगञ्जका प्रमुख अरविन्द बानियाले जानकारी दिए। उनीहरूलाई औषधी ऐन २०३५ अनुसार कारबाही हुने उनको भनाइ छ। 
केही औषधी पसलहरूलाई कागजपत्र नवीकरण गर्नेको लागि सात दिनको समय दिएको र औषधी व्यवस्था विभाग वीरगञ्ज शाखाका सम्पर्क राख्न समेत जानकारी गराइएको बानियाले बताए।
रौतहटका करिब दुई दर्जन भन्दा बढी औषधी पसलको अनुगमन गरेको र दोषीलाई कडा भन्दा कडा कारबाही गरेर छाडने औषधी व्यवस्था विभागको शाखा कार्यालय वीरगन्जले जनाएको छ।