राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले चुनाव जित्न, नेता उत्पादन गर्न र त्यसपछि थन्किएर बस्न सङ्गठन आवश्यक नभएको बताएका छन्। 
शुक्रवार पार्टी कार्यालयमा शपथ ग्रहण समारोहमा बोल्दै उनले जनप्रतिनिधिहरूलाई क्षमता अनुसार काम गर्न पार्टीका तर्फबाट सहयोगी भूमिका निर्वाह गर्न सङ्गठन आवश्यक रहने बताएका हुन्। 
उनले भने, ‘हामीले हाम्रो जनप्रतिनिधिहरूलाई क्षमता अनुसार काम गर्नको लागि खुल्ला छाड्ने छौँ। साथै सङ्गठनका तर्फबाट सहयोगी भूमिका निर्वाह गर्नको लागि सङ्गठन आवश्यक छ। सङ्गठन मात्र चुनाव जित्ने, नेता उत्पादन गर्ने र त्यसपछि थन्किएर बस्नका लागि सङ्गठन आवश्यकता छैन।’
उनले पदमा बहाली रहेका सम्पूर्णको निगरानी गर्ने, पृष्ठपोषण गर्न, खबरदारी गर्न र त्यो कुरा सार्वजनिक गर्न जिम्मेवारी (रास्वपा) सङ्गठनको रहेको बताए। 
यस्तै रास्वपा सांसद विराजभक्त श्रेष्ठले केही गरौँ भनेर आएका युवालाई संसद्मा बोल्न नदिने र बोलिरहँदा माइक काट्ने गरेको बताए। 
रास्वपाले केन्द्रीय अधिवेशनलाई लक्षित गर्दै वडा अधिवेशन गरिरहेको छ। शुक्रवार निर्वाचित भएका काठमाडौँका वडा सभापतिहरूलाई शपथ ग्रहण समारोह आयोजना गरेको हो।