स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशव्यापी रूपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरूलाई खोप प्रदान गरिएको छ।
शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरूलाई खोप प्रदान गरिसकेको जानकारी गराएका हुन्। 
उनले भने, ‘स्वास्थ्य मन्त्रालयले देशव्यापी रूपमा सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानमा हालसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरूलाई खोप प्रदान गरिसकेको छ। यो कुल लक्ष्यको ९२ प्रतिशत हो।’
यसको साथै, उनले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पा जिल्लामा प्रतिकुल मौसमका कारण निर्धारित तालिका अनुसार खोप अभियान सञ्चालन गर्न नसकेको भन्दै मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ गते र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी दिएका छन्। 
यस्तै, उनले फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको र त्यसको लागि स्थानीय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेका छन्। 
उनले भने, ‘फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको छ। यस अभियानमा ३० वर्ष माथिका सम्पूर्ण नागरिकहरू आफूलाई सुहाउने स्थानीय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप मापन, मिर्गौला सम्बन्धी रोगको जाँच र बिएम्आईको मापन गरी आफ्नो स्वास्थ्यको बारेमा जानकार रहन पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अपिल गर्दछ।’