चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विगत १० वर्षदेखि गर्न नसकिएका कामहरू पछिल्लो चार महिनामा सुरु भएको बताएका छन्।
शुक्रवार नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समारोहमा बोल्दै उनले तत्कालै १३ सय रोपनी जमिन धुलिखेल नगरपालिकासँग सम्झौता गरेको जानकारी दिए।
उनले भने,‘चलचित्र विकास बोर्डले तत्कालै १३ सय रोपनी जमिन धुलिखेल नगरपालिकासँग सम्झौता गरेको छ। एक हप्ताको निर्णयमा हामीले भोग चलन गर्न पाउने गरी ल्याएका छौ। प्रक्रियामा छौ। बनेपामा एउटा इनडोर स्टुडियोको काम पनि भइरहेको छ।’
उनले सरकारी ४२ रोपनीको जग्गामा स्टुडियो बनाउन टेन्डर आव्हान गरेको जानकारी दिएका छन्। उनले टेन्डर एक महिनामा आउने र वैशाखमा काम सुरु गर्ने पनि बताए।
उनले भने,‘सरकारले दिएको ४२ रोपनीको जग्गामा स्टुडियो बनाउन टेन्डर आव्हान गरेका छौँ। टेन्डर एक महिनामा आउँछ र वैशाखमा काम सुरु गर्छौ। आम चलचित्रकर्मीहरूको बीचमा निर्माता र वितरकको बीचमा भएका एक अर्काका शङ्काहरू निवारण हुने गरी काम गरिरहेका छौ। ऐनको कुरामा विकास बोर्डबाट सञ्चार मन्त्रालय, सञ्चारबाट अर्थ मन्त्रालय फेरी अर्थ मन्त्रालयबाट सञ्चार मन्त्रालय हुँदै प्रधानमन्त्रीको हातमा पुगेको छ। आउँदो बजेटमा पास गर्ने छौ। विगत १० वर्षदेखिको अध्यक्षहरूले गर्छु भनेको गर्न नसकेको गर्न नदिइएको कामहरू गरेर चार महिनामा चलचित्र उद्योगका लागि सफलताको बाटोतर्फ धकेलेको छ।’
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९ गते देखि फागुन ११ गतेसम्म चल्नेछ। उक्त चलचित्र महोत्सवका आयोजक विलक्षण क्रिएसन प्रालि र सह–आयोजक चलचित्र विकास बोर्ड रहेको छ।