विद्युत् चुहावट गरेको आरोपमा रौतहटको विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन्। नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाको विद्युत् चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको हो।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र चन्द्रनिगाहपुरका प्रमुख धीरेन्द्र यादवका अनुसार वृन्दावन र चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा मिटरको शील तोडेर, हुकिङ तथा तारमा सिधै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
उनीहरूलाई नियमअनुसार जरिवाना तिराएर चेतावनी दिई रिहा गरिने उनले जानकारी दिए। विद्युत् चुहावटले आर्थिक क्षति हुनुका साथै आगलागी र दुर्घटनाको जोखिम पनि बढाउने भएकाले यसलाई कडाइका साथ नियन्त्रण गरिने उनले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा गाउँ गाउँमा विद्युत् चुहावट नियन्त्रण अभियान थलिएको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुरले जनाएको छ। वितरण केन्द्रले आगामी दिनमा पनि विद्युत् चुहावट रोक्न अभियानलाई अझै तीव्रता दिने बताएको छ। उक्त शाखामा अहिले ३२ हजार ८ सय भन्दा बढी ग्राहक रहेका छन्।